काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशलाई इमानदार नेतृत्व चाहिएको बताएका छन् ।
सामाजिक सञ्जालमा सक्रिय बालेनले आफू राजनीतिमा प्रवेश गर्नुको कारण उल्लेख गर्दै यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ।’
उनले नेपाललाई देशलाई व्यवस्थित बनाउने योजना र उद्देश्यसहित आफू राजनीतिमा सक्रिय भएको दाबी गरेका छन्। ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने हो।
नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ’, उनले लेखेका छन्, ‘संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्।
शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्। यो अभियान कुनै एक व्यक्तिको होइन। यो सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो। सबैको साथ, सहयोग र विश्वाससहित ।’
उनले २०७२ को भूकम्पपछि सिभिल इन्जिनियरको रुपमा काम गरेको सम्झनासमेत गरेका छन् । ‘२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ’, बालेनले लेखेका छन्, ‘काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।’
उनले नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा विभिन्न अनुभव आर्जन गरेको उल्लेख गरेका छन् ।