काठमाण्डौ । नागरिक सरकारको रूपमा गठित वर्तमान अन्तरिम मन्त्रिपरिषद्मा नयाँ तरंग पैदा भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले तीनजना मन्त्रीलाई राजीनामा दिन सुझाव दिएको स्रोतहरूको दाबीले राजनीतिक वृत्तमा हलचल मच्चाएको छ ।
यसले सरकारको स्थिरता र आगामी निर्वाचनको तयारीमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार, सोमबारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री कार्कीले मन्त्रीहरूको राजनीतिक सक्रियतामाथि गम्भीर आपत्ति जनाएकी थिइन् । अन्तरिम सरकारको प्रकृतिअनुसार मन्त्रीहरूले कुनै पनि राजनीतिक दल वा गतिविधिमा संलग्न नहुनुपर्ने उनको अडान रहेको बताइएको छ ।
विशेषगरी ऊर्जामन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई लक्षित गर्दै प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरेको एक मन्त्रीले गोप्य रूपमा जानकारी गराएका छन् ।
कुलमान घिसिङको पछिल्लो राजनीतिक कदमले यो विवादलाई बढावा दिएको देखिन्छ । उनले संरक्षक रहेको उज्यालो नेपाल पार्टीलाई राष्ट्रिय स्वतंत्र पार्टी (रास्वपा) मा विलय गराएपछि रास्वपाले घिसिङलाई उपसभापति पद दिएका थिए । यसैगरी, बब्लु गुप्ता पनि रास्वपाको विभिन्न कार्यक्रममा सक्रिय देखिएका छन् भने जगदीश खरेलमाथि व्यक्तिगत स्वार्थका आधारमा राजनीतिक चलखेल गरेको आरोप प्रधानमन्त्री निकट स्रोतले लगाएको छ