काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह एकाएक सक्रिय भएका छन् ।
सहकारी ठगी प्रकरणमा ९ महिना जेल परेर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सक्रियासँगै बालेनले पनि छलफल तीव्र पारेका हुन् ।
रविसँग दुई पटकसम्मको भेटमा कुरा मिल्न नसकेपछि बालेनले आफ्नै रणनीति अनुसार वैकल्पिक शक्ति निर्माणका लागि छलफल थालेका हुन् ।
उनले बुधबार र बिहीबार स्वतन्त्र व्यक्ति, नागरिक समाजका सदस्य र अन्य दलका नेतासँग पनि बाक्लो संवाद गरेका छन् ।
त्यसकै निरन्तरतास्वरुप उनले बिहीबार बिहान उज्यालो नेपाल पार्टीका संरक्षक एवम् ऊर्जामन्त्री कुलमान घिसिङसँग संवाद गरेका छन् ।
बुधबारको छलफलमा पत्रकार, उद्योगी, व्यवसायी, जेनजी प्रतिनिधि, केही दलका नेताहरुलगायतसँग पनि भेट गरेका थिए ।