काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास तथा जलस्रोत, उर्जा र सिंचाइ मन्त्री कुलमान घिसिङले आफ्नो सयदिने कार्यकालमा १ सय १ वटा काम सम्पन्न गरेको दाबी गरेका छन् ।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री घिसिङले आफूले सम्हालेका तीनवटै मन्त्रालयमा जनमुखी सेवा प्रवाहलाई प्राथमिकता दिँदै उल्लेखनीय काम सम्पन्न गरिएको बताए ।
उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३६, शहरी विकास मन्त्रालयअन्तर्गत ३३ तथा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गत ३१ वटा प्रमुख काम सय दिनभित्र सम्पन्न भएका छन्।
मन्त्री घिसिङले आफूलाई ‘सेवक’को भूमिकामा राख्दै जेन–जीको मागअनुसार निस्वार्थ ढंगले काम गरिरहेको दाबी गरे। उनले आगामी दिनमा पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।
‘मैले एक सेवकका रुपमा निस्वार्थ जेन–जीको माग अनुसार सेवाप्रवाह गरिरहेको छु । यसैक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा–३६, शहरी विकास मन्त्रालयमा–३३ र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा–३१ वटा प्रमुख काम सम्पन्न गरिएको छ ।’
यस्तै, उनले ढिलाइ लापरबाही र बाहनाबाजीका कारण देशमा विकासले गति नलिएको बताउँदै त्यसो गर्ने जोकोही कारबाहीमा पर्ने थपे ।