चाडबाडले आयात र निर्यात दुबै बढ्यो, व्यापार घाटा करिब ४ खर्ब

काठमाडौं । नेपालको वैदेशिक व्यापार क्रमशः सुधार हुँदै गएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्मको भन्सार विभागको तथ्यांक अनुसार आयात र निर्यात दुबैमा वृद्धि भएको हो ।

असोज-कात्तिक महिनामा नेपालीहरुको महान् चाड बडादशैं, तिहार र छठ पर्व परेकाले पनि आयात निर्यात बढेको देखिएको छ ।

विभागले आज सार्वजनिक गरेको तथ्यांक अनुसार आयात १९.७९ प्रतिशतले बढेको छ भने निर्यात ८९.६४ प्रतिशतको वृद्धि भएको छ । यस अवधिमा नेपालले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ ।

तथ्यांक अनुसार यस अवधिमा मुलुकले तीन खर्ब ९५ अर्ब ३० करोड पाँच लाख रुपियाँ बराबरको व्यापार घाटा व्यहोरेको हो । गत वर्षको तुलनामा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा नेपालले तीन खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो ।

यस अवधिमा नेपालको वैदेशिक व्यापार २६।०४ प्रतिशतले बढेको छ । असोज मसातसम्म नेपालले पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जबकी गत आवको सोही अवधिमा चार खर्ब २९ अर्ब १३ करोड १० लाख रुपियाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

तीन महिनामा साढे चार खर्ब रुपियाँ बराबरको वस्तु तथा सेवा आयात भएको भने साढे ७२ अर्बमाथिको वस्तु तथा सेवा निर्यात भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार