काठमाडौं । पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता दीपक खड्काले आफूमाथि उठेका विषयमा छानबिन गर्न चुनौती दिएका छन् । अहिलेको सरकारमा रहेका र यसअघिका सरकारहरूमा रहेकाहरूको पनि सम्पत्ति छानबिन गर्नुपर्ने उनको माग छ ।
“म माथि उठेका विषयमा छानबिन गरे भयो । निष्पक्ष छानबिन होस्, म सहयोग गर्न तयार छु,” सामाजिक सञ्जालमार्फत उनले भने, “हामी कानुनी राज्यमा विश्वास गर्ने व्यक्ति हौँ । छानबिन होस्, म सहयोग गर्न तयार छु ।”
आफूसँगै अरू व्यक्तिको पनि छानबिन हुनुपर्ने उनको माग छ । अहिले सरकारमा रहेका र त्यसअघिका सरकारहरूमा रहेका व्यक्तिको पनि सम्पत्ति छानबिन गर्न खड्काले माग गरे ।
आफू भागेर अमेरिका गएको भन्ने भ्रम सञ्चारमाध्यमले छरेको भन्दै उनले आपत्ति जनाए । श्रीमतीलाई डेंगु भएपछि उपचारका लागि भारत भएको र उनीहरू अहिले पनि मेदान्त अस्पतालमा रहेको उनले प्रष्ट पारे ।