काठमाडौं – गत शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा भएको राजावादीको प्रदर्शनका क्रममा भएको झडपमा घाइते भएका १२८ जनामध्ये १३ जना उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपचाररत १३ जनामध्ये ७ जना गोली लागेका तथा गम्भीर चोट लागेकाहरु रहेको बताइएको छ ।
गम्भीर घाइते उनीहरु सबैको आकस्मिक शल्यक्रिया गरिएको छ । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार प्रदर्शनका क्रममा घाइते भएकाहरुको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरुमा उपचार भएको छ ।
सरकारले तीनकुने घटनाका घाइतेहरुको निशुल्क उपचार गर्ने घोषणा गरेको थियो । सोही अनुसार निशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पतालहरुलाई मन्त्रालयले निर्देशन दिएको छ ।