काठमाण्डौ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालको विभिन्न भागमा प्रवेश गरी आगामी दिनहरूमा भारी वर्षा गराउने पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे निर्देशन जारी गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस अवधिमा नारायणी, बागमती, कमला र कोशी नदीमा पानीको बहाव सतर्कता तहमा पुग्न सक्ने चेतावनी दिइएको छ।
विशेष जोखिम क्षेत्रका रूपमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, बारा, पर्सा, सर्लाही र रौतहटलगायतका जिल्लामा आकस्मिक बहाव तथा पहिरोको जोखिम औंल्याइएको छ।
प्राधिकरणले अनावश्यक रुपमा घर बाहिर ननिस्कन, विशेष गरी राति यात्रामा नजान तथा जोखिमपूर्ण स्थानबाट टाढा रहन आग्रह गरेको छ। साथै, जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई वर्षा र सडकको अवस्था मूल्याङ्कन गरी आवश्यक परे सवारी सञ्चालनमा रोक लगाउने अधिकार प्रयोग गर्न निर्देशन दिइएको छ।