कोरला भन्सारबाट दुई दिनमा २९ करोड राजस्व संकलन

काठमाडौं । हालै सञ्चालनमा आएको मुस्ताङको कोरला भन्सार कार्यालयबाट दुई दिनमा २९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । नेपाल भन्सार स्वचालन प्रणाली (आशिकुडा) लागु भएपछि व्यावसायिक रूपमा सञ्चालनमा आएको यो भन्सारबाट बुधबार र बिहीबारमा मात्र २९ करोड रुपैयाँ राजस्व उठेको कोरला भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

“सामान आउने क्रम जारी छ । इलेक्ट्रिक गाडी बढी मात्रामा आएका छन् । हिजोसम्म २९ करोड रुपैयाँ राजस्व दाखिला भएको अवस्था छ,” उनले भने ।

यो भन्सार असोज १ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । नेपाल राष्ट्र बैंकले भदौ ३१ गते मुस्ताङको कोरला भन्सारबाट सामान आयात गर्दा बैंकहरूलाई विनिमय गर्न स्वीकृति दिएको हो ।

यो भन्सारबाट इलेक्टिक भेइकल (ईभी) २२२ वटा आएका छन् । जसमा १५९ वटा जाँचपास भएर भन्सारबाट भित्रिएको उनी बताउँछन् ।

हालसम्म मालवाहक गाडी ९६ वटा आएका छन् । जसमा ५५ वटा जाँचपास भई राजस्व दाखिला गरेर छुटेका खड्का बताउँछन् ।

रसुवा र तातोपानी भन्सार बाढीपहिरोका कारण बन्द भएकाले चीनतर्फबाट सामान नेपाल भित्र्याउन यो नाका सञ्चालनमा ल्याइएको हो । रसुवा भन्सार बन्द हुँदा यो भन्सारबाट सामान आयात बढेको छ । अहिले नै अत्यधिक चिसो भएकाले हिउँदमा यो नाका प्रयोग हुनेमा शंका छ । कोरला भन्सार छेउमा कुनै पनि होटेल छैनन् । व्यवसायी तथा कर्मचारी २–३ किलोमिटर तल झरेर बस्नुपर्ने बाध्यता छ ।

दसैँ नजिकिँदै गएकाले पनि चीनबाट सामान ल्याउने व्यापारीहरूले यो भन्सार प्रयोग गरिरहेका छन् । तर, कोरला बोडरबाट ५०० मिटर उता पुगेर व्यवसायीले सामान लोड गरेर ल्याउनुपर्ने बाध्यता छ । चीनतर्फका व्यापारीले उनीहरूकै भन्सारसम्म मात्र सामान ल्याइदिने गरेका छन् । अत्यन्तै चिसो स्थानमा यो नाका भएकाले नेपालबाट गएका गाडी चिसोका कारण स्टार्ट नहुने समस्या देखिने गरेको खड्का बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार