काठमाडौं । हिजाे शुक्रबार तीनकुनेमा राजवादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिएपछि मुख्य योजनाकार भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउनु पर्ने आवाज बढ्दै गएको छ ।
शनिबार सर्वसाधारणले सामाजिक सञ्जालहरूमा ह्यासट्याग अभियान चलाएर ज्ञानेन्द्रलाई कानुनी कठघरामा ल्याउन सरकारलाई दबाब दिएका छन् । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले, प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस हुँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, विपक्षी दलहरू नेकपा एकीकृत समाजवादीले पनि ज्ञानेन्द्रलाई नै मुख्य दोष देखाएका छन् ।
ज्ञानेन्द्रलाई कानुनी दायरामा ल्याउन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आह्वान गरेको छ । हिंसात्मक घटनाको छानबिन गरेर दोषीमाथि कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले माग गरेको छ ।