काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुद्दाको पुर्पक्षका लागि थुनामै रहने भएका छन्। जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा छाड्न अस्विकार गरेको हो।
रुपन्देही जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेतले लामिछानेको माग अस्विकार गरिएको बताए। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत्र २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
लामिछानेले उच्चको आदेशविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए। उनले बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गर्दै अदालतमा निवेदन दिएका थिए।
निवेदन दर्ता भएको साउन १९ गते नै अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले पक्षहरूलाई पेशीको सूचना दिने आदेश गरेको थियो।