काठमाडौं- सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि हाल भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका छन्।
पूर्व गृह तथा उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले भैरहवा कारागारबाट थुनामुक्त गरिनुपर्ने जिकिरसहित उक्त जमानत चार दिनअघि बुझाएका हुन्।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले लामिछानेले निवेदन दिएको दिनमै बैंक जमानत पेश गरिसकेका बताएका छन् । ‘उहाँले निवेदन दर्ता गरेकै दिन बैंक जमानत पनि बुझाउनुभएको छ। यसबारेको निर्णय अब इजलासबाटै हुन्छ’, उनले सञ्चारकर्मीसँग भनेका छन् ।
सर्वोच्च अदालतले समेत तत्काल पाइएका प्रमाणका आधारमा निर्दोष भन्न नसकिने ठहर गरेर रिहा गर्न अस्वीकार गरेको अवस्थामा रविले निवेदनमा आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरेर जेल पठाइएको दाबी गरेका छन् ।