मूल्य बढ्दाको असरः सुनको आयात ४७.६० प्रतिशतले घट्यो

काठमाडौं । गत आर्थिक बर्ष २०८१–८२ मा सुनको आयात ४७.६० प्रतिशतले घटेको छ । परिमाणका आधारमा सुनको आयात सो दरमा घटेको भन्सार बिभागले सार्वजनिक गरेको गत आवको तथ्यांकले देखाएको हो ।

अघिल्लो आव २०८०–८१ मा दुई हजार ६५२ केजी सुन आयात भएको थियो । गत आवमा एक हजार ३९० केजी सुन आयात भएको तथ्यांकमा उल्लेख छ ।

रकमका आधारमा सुनको आयात २८ प्रतिशतले घटेको छ । अघिल्लो आव २०८०–८१ मा दुई हजार ६५२ केजी सुन आयात गर्दा २३ अर्ब ६५ करोड ३९ लाख रुपियाँ बाहिरिएको थियो । गत आवमा एक हजार ३९० केजी सुन आयात गर्दा १७ अर्ब १२ करोड ८९ लाख रुपियाँ बाहिरीएको छ । अघिल्लो आवको तुलनामा मूल्य बढ्दा रकमका आधारमा सुनको आयात कम दरमा घटेको देखिएको हो । नेपालमा पहिला बार्षिक ४३ अर्ब रुपियाँ सम्मको सुन आयात हुने गरेको थियो ।

बिभिन्न देशबीचको व्यापार युद्द लगायतका कारण गत आवमा विश्वभर नै सुनको मूल्य उच्च दरमा बढेको थियो । त्यसको असरले नेपालमा पनि सुनको मूल्य बढेको थियो । यसरी मूल्य बढेपछि नेपालमा यसका गरगहनाको मागमा कमी आएको थियो ।

यसैगरि भन्सार करका कारण भारतमा भन्दा महंगो भएपछि सिमा क्षेत्रका मानिसहरुले भारतमै गएर सुनका गरगहना खरिद गर्ने गरेका थिए । पछि सरकारले सुनमा लाग्ने भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा सिमित गरेपनि यसको माग भने बढ्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार