काठमाडौं- ताप्लेजुङको पाथीभारा (मुक्कुम्लुङ) मा केबलकार निर्माणको विरोध गर्दै आएका संस्थाहरुले केबलकार बनाउन व्यवयासी चन्द्र ढकालको आईएमई समूहले अन्तर्राष्ट्रिय ऋण लिएको आरोप लगाएका छन् ।
आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङ ताङ्सेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले चन्द्र ढकालको ग्लोबल आईएमई ग्रुप र आईएमई ग्रुपले विश्व बैंक मातहत रहेको इन्टरनेशनल फाइनान्स कर्पोरेशन आईएफसीबाट ऋण लिएको आरोप लगाएका हुन् ।
चन्द्र ढकालको व्यवसायिक समूहले केबलकार परियोजना सहयोगका रुपमा आईएफसीबाट हालसम्म १ लाख ५६ हजार ७ सय ४६ देखि २ लाख ५० हजार अमेरिकी डलर र ऋणका रुपमा २० मिलियनदेखि ५०० मिलियन अमेरिकी डलरसम्म लिएको दाबी गरिएको छ । त्यसबाहेक आईएमई समूहले अन्य विदेश लगानीकर्ताबाट समेत पैसा प्राप्त गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।