काठमाडौं– आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो। प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ। आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०८१/०८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो। अर्ध वार्षिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो। संशोधित लक्ष्य अनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ।
अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए। उनले भने, ‘तयारी सुरु गरिसकेका छौं। चालू आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं।’ चालू आर्थिक वर्षमा १३ खर्ब १५ अर्ब राजस्व संकलनको लक्ष्य छ। आर्थिक वर्ष २०७१/०७२ मा ४ खर्ब ५ अर्ब, २०७२/०७३ मा ४ खर्ब ८१ अर्ब, २०७३र०७४ मा ६ खर्ब ९ अर्ब, २०७४/०७५ मा ७ खर्ब २६ अर्ब, २०७५/०७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो।