अब सार्वजनिक बिदाका दिनसमेत धरहरा खुला रहने

काठमाण्डौ । अब सार्वजनिक बिदाका दिनसमेत धरहरा खुला रहने भएको छ । सहरी विकास मन्त्रालयले साउन १ गतेदेखि सार्वजनिक बिदाका दिनसमेत बिहान ८ देखि बेलुका ८ बजेसम्म धरहरा सञ्चालन गर्ने तयारी गरेको हो ।

यस्तै अब दैनिक दुई चरण (सिफ्ट) मा धरहरा खुला गरिने भएको छ । अहिले धरहरा दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला हुँदै आईरहेको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ ।

पुनर्निर्माणपछि गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणका लागि स:शुल्क सञ्चालन गरिएको सात महिनाको अवधिमा टिकट बिक्रीबाट ४ करोड ३३ लाख ९३ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ । यस अवधिमा २ लाख ३७ हजार ६५ जनाले धरहराको अवलोकन गरेका छन् ।

धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेकका राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति एक हजार शुल्क लिने गरिएको छ

प्रतिक्रिया
सम्बन्धित समाचार