काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले सबैलाई चकित पार्नेगरी बुधबार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अघिल्लो जेठ महिना मात्र सार्वजनिक पद धारण गरेका गभर्नर पौडेलले करिब डेढ महिनामानै आफ्नो व्यक्तिगत सम्पत्ति विरण सार्वजनिक गरेका हुन् ।
आफ्नो र श्रीमतिको नाममा करोडौंको नगद तथा जिन्सी सम्पत्ति रहेको उल्लेख गरेका पौडेल निकै धनी गभर्नरको रुपमा देखिएका छन् । एक करोडमाथिको सुन र हिराका गरगहना, २० लाख रुपियाँमाथिको बैंक ब्यालेन्ससहित विभिन्न कम्पनीमा १४ करोड रुपियाँमाथिको शेयर लगानी रहेको उल्लेख गरेका गभर्नर पौडेलले ललितपुर र नवलपरासीमा श्रीमतिको नाममा २ करोडभन्दा माथिको घरजग्गा रहेको उल्लेख गरेका छन् ।
सम्पत्ति विवरण हेर्दा राष्ट्र बैंकका १८औं गभर्नर निकै धनी र सम्पन्न देखिन्छन् । यसले आज बजार निकै तताएको छ । तथापि, सार्वजनिक पद धारण गरेका गभर्नर पौडेलको यो सम्पत्ति विवरण सार्वजनिकले पक्कैपनि सार्वजनिक पदको गरिमा बढाउनुका साथै पारदर्शीता कायम गर्न सहयोग पुर्याएको छ ।
तर, दुखको कुरा यता सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरुले भने पद धारण गरेको एक वर्ष पुग्नै लाग्दा समेत अझैं सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक सरकारको नेतृत्व गरेको एक वर्ष पुग्नै लाग्यो । २०८१ असार अन्तिममा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको माओवादी–काँग्रेस गठबन्धनको सरकारलाई ढाल्दै ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए । देशमा व्याप्त अनियमितता, भ्रष्टाचार, अराजकता र मनलाग्दी बढेको भन्दै सुशासन र विकास दिन भन्दै संसदका दुई ठूला पार्टी नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाएका थिए । तर, सुशासनको राम्रै नारा दिएर गठन भएको ओली नेतृत्वको सरकार र मन्त्रीहरुले एकवर्ष पुग्नै लाग्दा समेत आफ्नो सम्पत्ति सार्वजनिक गरेका छैनन् ।