पोखरा – देशभरका ९७ प्रतिशत गाउँपालिकाहरूले आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम तथा बजेट तोकिएको समयमै पेस गरेका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले उपलब्ध गराएको विवरणअनुसार ४६० मध्ये ४४५ गाउँपालिकाले असार १० गतेको संवैधानिक समयसीमाभित्र बजेट सभामा प्रस्तुत गरेका हुन् । तर, १५ वटा गाउँपालिका भने विभिन्न कारणले समयमा बजेट ल्याउन असफल भएका छन् ।
नेपालको संविधान र संघीय कानुनले स्थानीय तहलाई असार १० गतेभित्र आफ्नो सभामा बजेट पेस गर्नुपर्ने व्यवस्था गरेको छ । महासंघका अनुसार स्थानीय सरकारमा दोस्रो कार्यकालका जनप्रतिनिधिहरूको यो चौथो बजेट हो र समग्रमा सहभागिता उत्साहजनक रहेको छ । यद्यपि, १५ गाउँपालिकामा सभाको अधिवेशन नै सुरु हुन सकेको छैन भने एउटा गाउँपालिकासँग सम्पर्क हुन नसकेको महासंघले जनाएको छ ।