वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा पाँच खर्ब ६५ अर्ब ४५ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । आव २०८०र८१ को ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै आयातको हिस्सा १४ दशमलव ४४ अर्थात् ७१ अर्ब ३६ करोड बढीका सामान भित्रिएका छन् ।
चालु आवको ११ महिनामा यो नाका हुँदै सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ७४ अर्ब नौ करोड रकमको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ । जसको हिस्सा रु ५२ अर्र्ब ५८ करोड रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवको ११ महिनामा आयात र निर्यात दुवै सन्तोषजनक रहेको बताउनुभयो । “चालु आर्थिकको ११ महिनामा आयात र निर्यात दुवैमा वृद्धि भएको देखिन्छ”, उहाँले भन्नुभयो, “बजेटले उत्साह जगाएको पनि सो सम्भव भएको हो ।”
सो अवधिमा रु ३३ अर्ब १९ करोड मूल्यका मेसीनसी तथा तिनका पार्टपुर्जा आयात भएका छन् । त्यस्तै रु ३१ अर्ब ३९ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा रु २६ अर्ब २३ लाख मूल्य पर्ने सबै प्रकारका एलोपेथिक औषधिहरू भित्रिएका छन् ।