चितवन । व्यवसायीक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५/२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका छन् ।
नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न रु ५५ रुपैयाँ खर्च हुन्छ । निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरु बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए ।
उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो । एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो सङ्ख्या बढेर ३५ लाख नाघेको छ । भारतीय क्षेत्रबाट निर्वाध रुपमा अवैध चल्ला भित्रिएको व्यवसायी बताउँछन् ।
नेपाल ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनी बताउछन् ।
उनका अनुसार प्रति गोटा एक सय ३० रुपियाँ खर्च हुने लेयर्स कुखुराको चल्ला पनि एक सय रुपियाँ हाराहारीमा बेच्नु परेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ ।