काठमाडाैँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजार सुधार र पुँजी बजार प्रवर्द्धनका लागि महत्वपूर्ण योजना सार्वजनिक गरेका छन्। उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पुनर्संरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिनेछ, जसले पुँजी बजारलाई थप पारदर्शी, सक्षम र भरपर्दो बनाउनेछ।
धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्दै नागरिक लगानीकर्ताको हित संरक्षणमा विशेष ध्यान दिने योजना सरकारले ल्याएको छ। लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न र उनीहरूको सहभागिता बढाउन सरकारले आवश्यक सुधार गर्ने जनाएको छ।
सूचीकृत कम्पनी तथा संस्थागत लगानीकर्ताहरूले राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा जारी हुने पुँजी ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहज वातावरण बनाइनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई प्राइभेट इक्विटी र भेञ्चर क्यापिटलमा लगानी गर्न कानुनी संरचना तयार गरिनेछ, जसले नयाँ लगानी सम्भावनाहरू खोल्ने विश्वास गरिएको छ।