काठमाडाैँ । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पूंजीबजारमा जनताको खर्बौं रुपैयाँ लगानी भएको भन्दै यसलाई हल्कासँग लिन नहुने चेतावनी दिएका छन्। उनका अनुसार पूंजीबजारको स्थायित्व र पारदर्शिता आर्थिक विकासको महत्त्वपूर्ण अङ्ग हो र यसमा लापरवाही गर्नाले समग्र अर्थतन्त्रमा गम्भीर असर पर्न सक्छ।
गभर्नर पौडेलले पूंजीबजारको विश्वसनीयता कायम गर्न नियमन र निगरानी प्रणालीलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, उनले लगानीकर्ताको भरोसा जित्नका लागि बजारमा पारदर्शिता, नियमनको कार्यान्वयन, र वित्तीय साक्षरतामा जोड दिनुपर्ने बताए।
पौडेलले राष्ट्र बैंकको पहिलो कार्य प्राथमिकता सुपरीवेक्षण हुने बताए। उनले बैंक तथा वित्तीय संस्थाहरूले ऐन, नियम, निर्देशन र सिद्धान्तअनुसार काम गरिरहेका छन् कि छैनन् भन्ने गहिरो मूल्यांकन गर्ने बताए। यसरी सुपरीवेक्षणलाई प्राथमिकतामा राख्नुको उद्देश्य आम जनताको बैंकमा रहेको नगद सुरक्षित राख्नु रहेको उनको भनाइ छ।