काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेलाई अर्कोपटकदेखि नबोलाउन निर्देशन दिएका छन् ।
गणतन्त्र दिवस मूल समारोह समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै उनले सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने, तर कहिल्यै नआउने गरेको टिप्पणी गरे ।
कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रममा सधैँ नाम राखेर बोलाइरहने, तर नआउने गरेको भन्दै उनीहरूको प्रधानमन्त्रीले रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिएका हुन् ।
कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनले बताए । प्रधानमन्त्री ओलीले भने, “कहिल्यै पनि नआउने, नाम राखिरहनुपर्ने । मानका खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो १”
अर्कोपटकदेखि सोधीखोजी गर्न उनले आग्रह गरे । “हेर्नुहोला रेकर्ड को एकपटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो कि होइन सोधेर,” उनले भने, “आउने नभए नाम नराख्नुहोला । हरेकपटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने १”
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने बताए ।