के हो गैरबैंकिङ सम्पत्ति ? नेपालका बैंकहरूमा किन बढ्दैछ यस्ता सम्पत्ति ?

२० वाणिज्य बैंकको मात्र खराब कर्जा ५.०५ प्रतिशत छ, सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको

काठमाडाैँ । गैरबैंकिङ सम्पत्ति (Non-Banking Assets) भन्नाले बैंक तथा वित्तीय संस्थाहरूले कर्जा असुलीको क्रममा धितोको रूपमा लिएको सम्पत्ति हो । ऋणीले कर्जा तिर्न नसक्दा बैंकले आफ्नो स्वामित्वमा लिन्छन्। उदाहरणका लागि, यदि कुनै व्यक्ति वा संस्थाले बैंकबाट लिएको कर्जा समयमा तिर्न सकेन भने, बैंकले उक्त कर्जाको धितोमा राखिएको सम्पत्ति—जस्तै घर, जमिन, वा अन्य अचल सम्पत्ति—जफत गरी आफ्नो स्वामित्वमा ल्याउँछ। यस्ता सम्पत्तिहरूलाई गैरबैंकिङ सम्पत्ति भनिन्छ।

नेपाल राष्ट्र बैंकका अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले यस्ता गैरबैंकिङ सम्पत्तिहरूलाई सकेसम्म चाँडो बिक्री गरी नगदमा परिणत गर्नुपर्ने हुन्छ, ताकि ती सम्पत्तिहरू बैंकको नियमित कारोबारमा प्रयोग गर्न सकियोस् । नेपाल राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्ष ०८१/८२ को चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति ४४ अर्ब ८० करोड ८८ लाख रुपैयाँ पुगेको हो ।

बढ्दो खराब कर्जाका कारण यस्तो सम्पत्ति थपिँदै गएको बैंकरहरूको भनाइ छ । चालु वर्षकै तीन त्रैमासलाई हेर्दा साउनयता प्रत्येक त्रैमासमा खराब कर्जाको दर बढिरहेको छ । चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा ५.२४ प्रतिशत कायम छ । आर्थिक वर्ष ०८०/८१ को चैतसम्ममा ३.९८ प्रतिशत थियो ।

२० वाणिज्य बैंकको मात्र खराब कर्जा ५.०५ प्रतिशत छ । चालु आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरूको खराब कर्जा ३.७६ प्रतिशत थियो । त्यस्तै, आर्थिक वर्ष ०८०/८१ को चैतसम्म खराब कर्जा ३.८९ प्रतिशत थियो । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको छ । यो बैंकको पाँच अर्ब ९९ करोड ८० लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति छ । त्यस्तै, हिमालयन बैंकको पाँच अर्ब १४ करोड ३५ लाख, एनआईसी एसिया बैंकको चार अर्ब ५८ करोड ७५ लाख र नबिल बैंकको तीन अर्ब ७८ करोड ९८ लाख रुपैयाँ गैरबैंकिङ सम्पत्ति छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार:

  • कुनै पनि बैंकले गैरबैंकिङ सम्पत्ति लामो समय (अर्थात ५ वर्षभन्दा बढी) स्वामित्वमा राख्न पाउँदैन।

  • यस्ता सम्पत्तिहरूलाई जल्दै बिक्री वा लिलामीमार्फत नगदमा परिणत गरी कर्जा असुल गर्नुपर्छ।

  • यदि समयमा बिक्री गर्न सकिएन भने त्यसको लेखा किताबमा ह्रास (depreciation) गर्ने, र व्यवस्थापन गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार