काडमाडौँ– नेपालीहरूको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज (बुधवार) भाइटीका मनाइँदै छ। भाइटीका बुधवार दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
यस वर्ष भाइटीका लगाइमाग्ने दाजुभाइ पश्चिम फर्किने र लगाइ दिने दिदीबहिनी पूर्व फर्किएर टीका लगाइदिनुपर्ने समितिले जनाएको छ।
यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको रहेको छ ।
L
दिदीबहिनीले दाजुभाइको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै सप्तरंगी टीका र माला लगाइदिने हुनाले यसलाई पारिवारिक सम्बन्ध बलियो बनाउने विशिष्ट पर्वका रूपमा मनाइन्छ। भाइटीकाले दाजुभाइ र दिदीबहिनीबिचको प्रेममय सम्बन्धलाई रङ्गहरूजस्तै सधैँ गाढा, ताजा र प्रज्ज्वल बनाइराख्ने विश्वास गरिन्छ।