काठमाडौं । अमेरिका र इरानबीच तनाव कम गर्न मध्यस्थकर्ताहरूले कूटनीतिक प्रयास तीव्र पारिरहेका बेला शुक्रबार राति इरानको केश्म द्वीपमा दुईवटा क्षेप्यास्त्र प्रहार भएका छन् । पछिल्ला साताहरूमा इरानको हवाई प्रतिरक्षा प्रणाली र क्षेप्यास्त्र प्रक्षेपण केन्द्रलाई लक्षित गरी दक्षिणी क्षेत्रमा भएका आक्रमणको यो पछिल्लो श्रृंखला हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आक्रमणलाई ‘साना आक्रमण’ भनेका छन् ।
इरानी सेनाले शनिबार नयाँ प्रणाली प्रयोग गरी अमेरिकी निर्मित एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । यसअघि इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले एमक्यू–१ ड्रोन खसालेको बताउँदै युद्ध सुरु भएयता यस मोडलका १६ वटा ड्रोन नष्ट गरिएको जनाएको थियो ।
युनाइटेड किंडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)ले नोभेम्बर ६ मा सकिएको सातामा होर्मुज जलमार्ग आसपास कम्तीमा ११ जहाजमाथि आक्रमण भएको र जसमध्ये तीनवटा डुबेको जनाएको छ । जुलाईको सुरुदेखि पश्चिमी सैन्य गुप्तचर निकायले ८८ वटा क्षेप्यास्त्र तथा अन्य प्रक्षेप्य प्रहार भएको अभिलेख राखेको छ । यद्यपि, धेरै आक्रमणको विवरण बाहिर नआएको उसले जनाएको छ ।
द्वन्द्वका कारण होर्मुज जलमार्गबाट हुने जहाज आवागमन पनि प्रभावित भएको छ । यूकेएमटीओका अनुसार, द्वन्द्वपूर्वको तुलनामा यस मार्गबाट हुने आवागमन करिब ६५ प्रतिशत घटेको छ । साताभर १७० जहाज बाहिरिएका र १५५ जहाज भित्रिएका छन् ।
इरानी सेनाले मिसाइल र ड्रोन आक्रमणसँगै अनुमति नलिएका मार्ग प्रयोग गर्ने ट्यांकर तथा व्यावसायिक जहाजहरू समुद्री बारुदी सुरुङको जोखिममा रहेको चेतावनी दिएको छ ।
यसैबीच इरानले आफ्ना बलिस्टिक मिसाइलको दायरा करिब दुई हजार किलोमिटरमा सीमित राख्दै आएको थियो । युरोपेली मुलुकलाई लक्षित नगरिने आश्वस्त पार्न उसले यस्तो सीमा कायम गरेको बताइन्छ ।
तर, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको नागरिक पूर्वाधारमा पुनः व्यापक हवाई आक्रमण गर्ने धम्की दिएपछि इरानी सैन्य अधिकारीहरूले अब मिसाइलको दायरामा कुनै सीमा नरहने बताएका छन् ।
आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले शनिबार मिसाइलको दायरासम्बन्धी सीमा हटाइएको बताए । उनका अनुसार, सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिका र इजरायलबाट आउने सम्भावित आक्रमणको जवाफ दिन कुनै सीमा नराख्न निर्देशन दिएका छन् ।
ठूलो आक्रमणको अर्को चरण सुरु भएमा प्रयोग गर्न आईआरजीसीको एयरोस्पेस विभागले नयाँ सैन्य क्षमता तयार पारेको पनि मोहेब्बीले दाबी गरे । उनले चाँडै अर्को भूमिगत ‘मिसाइल सिटी’ सार्वजनिक गर्ने र केही सैन्य प्रणाली सर्वसाधारणले अवलोकन गर्न सक्ने गरी सार्वजनिक स्थलमा राख्ने योजना रहेको बताए ।
इरानले आफ्नो आणविक सिद्धान्त परिवर्तन गरी परमाणु बम बनाउने निर्णय गरे आवश्यक तयारी गरिने पनि उनले बताए । क्षेत्रीय द्वन्द्व थप चर्किन नदिन पछिल्ला साताहरूमा कूटनीतिक प्रयास तीव्र पारिएका छन् । इरानी विदेशमन्त्री अब्बास अरागचीले शनिबार ओमान, कतार, साउदी अरेबिया र पाकिस्तानसहित पछिल्लो ४८ घण्टामा १२ देशका विदेशमन्त्रीसँग कुराकानी गरेको बताएका छन् ।
उनका अनुसार, होर्मुज जलमार्ग पुनः खोल्नेसम्बन्धी सातवटा मागसहित इरानको धारणा स्पष्ट पारिएको छ । उनले बाह्य शक्तिको हस्तक्षेपबिनै क्षेत्रीय सुरक्षा व्यवस्था निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।