काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को पहिलो त्रैमासमा जीवन बीमा व्यवसाय १६.६० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
गत आवको पहिलो त्रैमासमा १४ ठूला र तीन लघु जीवन बीमा कम्पनीको कुल बीमाशुल्क संकलन ५० अर्ब ३६ करोड ७३ लाख रूपियाँ थियो । चालु आवको पहिलो त्रैमासमा भने उनीहरुले ५८ अर्ब ७२ करोड ९३ लाख २० हजार रूपियाँ बीमाशुल्क संकलन गरेका छन् ।
त्यसमा ठूला बीमा कम्पनीहरुले मात्रै ५७ अर्ब ५२ करोड २० लाख रूपियाँ र लघुबीमा कम्पनीले ३४ करोड २१ लाख रूपियाँ बीमाशुल्क संकलन गरेका छन् । यसैगरि वैदेशिक रोजगार बीमाबाट ८६ करोड ५० लाख ४६ हजार रूपियाँ बीमाशुल्क आर्जन भएको छ । यो भने सबै कम्पनीहरुलाई समानुपातिक रुपमा बाँफाँट गरिन्छ ।
समीक्षा अवधिमा प्रथम बीमाशुल्क संकलन मात्रै १३ अर्ब ९२ करोड तीन लाख ५० हजार रूपियाँ छ । गत आवमा यस्तो बीमाशुल्क संकलन १० अर्ब ६६ करोड १५ लाख रूपियाँ थियो ।
समीक्षा अवधिमा ४४ अर्ब ८० करोड ८९ लाख रूपियाँ नवीकरण बीमाशुल्क उठेको छ । गत आवको यसै अवधिमा नवीकरण बीमाशुल्क संकलन ३९ अर्ब ७० करोड ५८ लाख रूपियाँ थियो ।