चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’ अति शक्तिशाली बन्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागले आज जारी गरेको पोस्ट मनसुनसम्बन्धी विशेष बुलेटिनअनुसार चक्रवात ‘अर्नब’ थप शक्तिशाली बन्दै गएको छ। उक्त चक्रवात आगामी कात्तिक ११ गते भारतको जमिनमा प्रवेश गर्ने सम्भावना रहेको र त्यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिदेखि देखिन सक्ने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने सम्भावना छ। ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको प्राधिकरणले जनाएको छ।

सम्भावित जोखिम न्यूनीकरणका लागि प्राधिकरणले कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, विपद् प्रतिकार्यका लागि पूर्वतयारी अवस्थामा रहन र सम्भावित जोखिमबाट बच्न आवश्यक उपाय अपनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार