काठमाडौं — दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन शुक्रबार वैदिक सनातन परम्पराअनुसार दसैँ घर तथा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।
विभिन्न पौराणिक ग्रन्थमा उल्लेख भएअनुसार देवताहरूको कार्यसम्पादनका लागि भगवती देवी कात्यायन ऋषिको आश्रममा अत्यन्त सुन्दरी कुमारीका रूपमा अवतार लिएकी थिइन्। उनको बालसौन्दर्यबाट मुग्ध भएका कात्यायन ऋषिले उनलाई पुत्रीका रूपमा स्वीकार गरेकाले देवीको नाम कात्यायनी रहन गएको धार्मिक मान्यता छ।
कात्यायनी देवीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानवको संहार गर्ने, हातमा खड्ग लिएकी, एउटै चुल्ठो भएकी, कानमा जपापुष्प तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी देवीका रूपमा वर्णन गरिएको पाइन्छ। यिनै देवीको आज विशेष पूजा आराधना गरिन्छ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिअनुसार घटस्थापना गरी जौँको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।