काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयदेखि रोकिएको आईपीओ निष्कासनको अनुमति प्रक्रिया अघि बढाउन थालेसँगै २२ कम्पनीले अडिट रिपोर्ट बुझाएका छन् । बोर्डले हिम पर्वत हाइड्रोपावरलाई ५९ लाख १५ हजार कित्ता सेयर सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति दिएसँगै अन्य कम्पनीले पनि अनुमति पाउने बाटो खुलेको हो ।
सेबोनले हिम पर्वत हाइड्रोपावरलाई असोज १९ गते आईपीओ निष्कासनको अनुमति दिएको जनाएको छ । वैशाखदेखि आईपीओ निष्कासनको अनुमति पर्खिरहेका कम्पनीलाई बोर्डले क्रमशः अनुमति दिन थालेपछि अहिले पाइपलाइनमा रहेका अन्य कम्पनीको पनि प्रक्रिया अघि बढ्ने देखिएको छ ।
सेबोनका एक अधिकारीका अनुसार अहिले ५ कम्पनी आईपीओ निष्कासनका लागि अन्तिम समीक्षाको चरणमा पुगेका छन् । यी कम्पनीको वित्तीय अवस्था, नेटवर्थ, अडिट गरिएको वित्तीय विवरणलगायत आवश्यक पक्षको समीक्षा पूरा भएपछि बोर्डबाट निष्कासन अनुमति पाउने प्रक्रिया अघि बढ्नेछ ।
‘नेपाल धितोपत्र बोर्डमा २२ कम्पनीले रिभ्युका लागि थप डाटा उपलब्ध गराएका छन् । आईपीओ बिक्रीका लागि अनुमति पर्खिरहेका २२ कम्पनीले गत वर्षको अडिट गरेको डाटा पेश गरेका छन्,’ सेबोनका एक अधिकारीले भने ।
अहिले पब्लिक कम्पनीहरुले धमाधम साधारण सभा गर्दैछन् । अरु कम्पनीहरुले पनि साधारण सभा गरेर आवश्यक डाटा उपलब्ध गराउने छन् ।