स्मार्ट टीभीमा सेटअप बक्सबिनै टेलिकमको एनटीटीभी चल्ने

काठमाडौं । नेपाल टेलिकमले एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमा सेट–टप बक्सबिनै एनटीटीभी सेवा प्रयोग गर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। कम्पनीले २०८३ असोज १५ गतेदेखि एन्ड्रोइड टीभीका लागि भर्चुअल सेट–टप बक्स उपलब्ध गराएको हो। यस सुविधामार्फत ग्राहकले आफ्ना एन्ड्रोइडमा आधारित स्मार्ट टीभीमै एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन्।

त्यसका लागि ग्राहकले गुगल प्लेस्टोरमा ‘स्मार्ट एनटीटीभी’ खोजी गरी एप इन्स्टल गर्नुपर्नेछ। एपमार्फत भर्चुअल सेट–टप बक्स प्रयोग गरी टेलिभिजन सेवा सञ्चालन गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार निकट भविष्यमा सबै प्रकारका स्मार्ट टीभीमा प्रयोग गर्न सकिने भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। उक्त सेवा थप ग्राहकमैत्री हुने गरी विकास गरिएको कम्पनीले जनाएको छ।

नयाँ प्याकेज लिने ग्राहकले भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिएमा १ हजार रुपैयाँ छुट पाउने व्यवस्था गरिएको छ। नेपाल टेलिकमले एनटी फाइबरमार्फत एउटै तारबाट टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ। भर्चुअल सेट–टप बक्ससहितको टेलिभिजन सेवा प्रयोग गर्न कम्पनीले विभिन्न प्याकेज उपलब्ध गराएको जनाएको छ।

कम्पनीका अनुसार वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डेटा सुविधासमेत उपलब्ध छ। एनटीटीभी तथा भर्चुअल सेटअप बक्ससम्बन्धी थप जानकारी नेपाल टेलिकमको वेबसाइट तथा ‘नेपाल टेलिकम’ एपमार्फत लिन सकिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार