काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुदको बक्सिङमा नेपालले पहिलो जित हात पारेको छ।
पुरुष ६० केजी तौल समूहमा खगेन्द्र रोका मगरले मकाउका जोन रेयेस सालिनासलाई ५–० को सर्वसम्मत निर्णयमा पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका छन्।
आइचीस्थित निशियो जिम्नेसियममा बुधबार भएको प्रारम्भिक चरणको बाउटमा पाँचै निर्णायकको निर्णय आफ्नो पक्षमा पार्दै खगेन्द्रले प्रतियोगितामा नेपालको बक्सिङ अभियानलाई अगाडि बढाए।
खगेन्द्रको जित जारी एसियाड बक्सिङमा नेपालको पहिलो जित हो। यसअघि रिङमा उत्रिएका नेपालका तीनै खेलाडी प्रारम्भिक चरणबाट बाहिरिएका थिए।
पुरुष ७० केजीमा दानबहादुर दर्लामी इराकका अली कासिम हमदान अल–सर्रेसँग ५–० को सर्वसम्मत निर्णयमा पराजित भएका थिए। पुरुष ५५ केजीमा नेपालबाट पदकको प्रमुख आशा गरिएका चन्द्रबहादुर थापा पनि भारतका जदुमनी सिंह मन्देङबामसँग ५–० ले पराजित भए। महिला ५१ केजीमा रमिशा श्रेष्ठलाई भियतनामकी न्गुएन थि तामले ५–० ले हराएकी थिइन्।
लगातार तीन पराजयपछि खगेन्द्रले दिलाएको जितले नेपाली बक्सिङलाई प्रतियोगितामा अगाडि बढाएको छ।