काठमाडौं– थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ।
कम्पनी सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ को नवौँ, दशौँ र एघारौँ वार्षिक साधारणसभा असोज २७ गते काठमाडौंको नयाँ बानेश्वरस्थित स्मार्ट दरबारमा आयोजना गर्ने निर्णय गरेको हो। सभाको प्रमुख एजेन्डाका रूपमा हाल कायम एक सेयरबराबर अर्को एक सेयर (१ः१) अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव राखिएको छ। प्रस्ताव पारित भए कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्न सक्नेछ।
हाल कम्पनीको चुक्तापुँजी ४९ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रदबाट समान रकमको थप पूँजी जुटेपछि चुक्तापुँजी ९८ करोड ५० लाख रुपैयाँ पुग्नेछ। यद्यपि साधारणसभाबाट प्रस्ताव पारित भएलगत्तै हकप्रद निष्कासन भने हुने छैन। कम्पनीले विद्युत् नियमन आयोगसहित सम्बन्धित निकायको सहमति तथा नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि मात्रै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ।