काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित भाटभटेनीको लुटपाटमा गत चैत १५ गते सत्तारुढ दलका सहमहामन्त्रीका छोरा संलग्न रहेको आरोपप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
गत चैत १५ गते राजतन्त्र पक्षधरहरूले तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीले कोटेश्वरको भाटभटेनीमा लुटपाट गरेका थिए ।
उक्त कार्यमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा समेत संलग्न रहेको र पक्राउ परेको राप्रपाका अध्यक्ष लिङ्देनले आरोप लगाएका थिए । यही वैशाख १२ गते प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सहमहामन्त्रीका छोरा पक्राउ समेत परेको र नेताको छोरा भन्ने थाहा पाएपछि छाडिएको बताएका थिए ।
उक्त भनाइको कांग्रेसले विरोध गरेको हो । आइतबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले आपत्ति जनाएका हुन् ।