एआईको सम्भावित खतराबारे चेतावनीपछि ओपनएआईले यस वर्ष आईपीओ नल्याउने 

काठमाडौं । विश्वका उन्नत एआई प्रविधि विकास गरिरहेका कम्पनीका प्रमुखहरूले मानवजातिमाथि पर्न सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै यसको विकासको गति केही सुस्त बनाउनुपर्ने चेतावनी दिएका छन् । यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि सोमबार एसियाली बजारमा एआईसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ ।

एआई कम्पनी एन्थ्रोपिकका प्रमुख कार्यकारी अधिकृत डारियो अमोदेईले यसको दुरुपयोगबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै क्षमता विस्तार गर्ने गति सुस्त बनाउनुपर्ने बताएका छन् । स्पेसएक्स तथा एक्सका प्रमुख इलोन मस्क र ओपनएआईका प्रमुख स्याम अल्टम्यानले पनि अमोदेईको भनाइप्रति समर्थन जनाएका छन् ।

अल्टम्यानले एआईको सुरक्षासम्बन्धी चिन्ताका कारण ओपनएआईले यस वर्ष प्रारम्भिक सार्वजनिक सेयर निष्कासन (आईपीओ) नगर्ने बताएका छन् ।

यसपछि जापानको बहुराष्ट्रिय लगानी कम्पनी सफ्ट बैंकको सेयर मूल्य १३.२ प्रतिशतसम्म घटेको छ । चिप निर्माता किओक्सिया र टोकियो इलेक्ट्रोनका सेयरमा पनि उल्लेख्य गिरावट आएको छ ।

ताइवानको टीएसएमसीको सेयर मूल्य १.२ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको एसके हाइनिक्सको ५.३ र सामसङको सेयर मूल्यमा ३.७ प्रतिशतले गिरावट आएको छ । सांघाई र हङकङका सेयर बजारमा पनि एआईसँग सम्बन्धित कम्पनीहरूको सेयर मूल्यमा ठूलो गिरावट देखिएको छ ।

सोनी फाइनान्सियल ग्रुपका विज्ञ ताकायुकी मियाजिमाका अनुसार, सप्ताहान्तमा एआई विकासको गति सुस्त बनाउनुपर्ने अभिव्यक्ति सार्वजनिक भएपछि प्रविधि कम्पनीका सेयरमाथि दबाब परेको हो । पश्चिम एसियामा जारी तनावले पनि लगानीकर्ताको चिन्ता बढाएको उनको भनाइ छ ।

यसैबीच, एन्थ्रोपिकले केही मानिसले आफ्नो ‘क्लाउड एआई’ मोडलको दुरुपयोग गर्दै हतियार निर्माण, साइबर आक्रमण, जासुसी तथा ठगीजस्ता गतिविधिमा प्रयोग गरेकोबारे प्रतिवेदन सार्वजनिक गरेको छ ।

एन्थ्रोपिकका पूर्वअनुसन्धानकर्ता ज्याकोब कक्सनले एआई विकासमा संलग्न केही मानिसले यही दशकको अन्त्यअघि यसले मानवजातिको अस्तित्व नै समाप्त पार्न सक्ने विश्वास राखेको बताएका छन् । उनले यस्ता जोखिमप्रति चिन्ता व्यक्त गर्दै कम्पनीबाट राजीनामा दिएका थिए । अल्टम्यानले पनि एआईबाट मानव अस्तित्वमा खतरा उत्पन्न हुन सक्ने सम्भावनालाई स्वीकार गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआईका आलोचकलाई ‘नकारात्मक सोच’ भएका व्यक्ति भन्दै उनीहरूले कहिल्यै नहुने घटनाबारे चेतावनी दिइरहेको बताएका छन् । उनले अमेरिकालाई एआई प्रविधिको क्षेत्रमा विश्वकै अग्रणी बनाइराख्ने आफ्नो चाहना पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार