काठमाडौं । इजिप्टकी चर्चित महिला टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्डको सजाए तोकिएको छ । लागुऔषध तस्करी तथा अवैध सञ्जाल सञ्चालनको अभियोगमा उनीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको समाचार बीबीसीले प्रकाशित गरेको छ ।
विदेशबाट लागुऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्ने तथा अवैध नशालु पदार्थ तयार गरी बिक्री–वितरण गर्ने कार्यमा उनीहरु दोषी ठहरिएका हुन् ।
अनुसन्धानका क्रममा अधिकारीहरूले ७५० किलोग्रामभन्दा बढी तयारी लागुऔषध तथा कच्चा पदार्थका साथै अवैध हतियार र गोलाबारुद बरामद गरेका थिए । अदालतमा २० जना साक्षीको बयानसँगै अडियो तथा भिडियो क्लिपलगायत विद्युतीय प्रमाण पनि पेस गरिएको थियो ।
इजिप्टमा अपराधसम्बन्धी चर्चित कार्यक्रम सञ्चालन गर्दै आएकी सारा खलिफाले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेकी छन् । गत वर्ष अदालतमा बयान दिँदै उनले एन्टी–ड्रग्स एजेन्सीको कार्यालयमा तस्बिर खिच्ने क्रममा मात्रै आफ्नो जीवनमा पहिलोपटक लागुऔषध देखेको दाबी गरेकी थिइन् ।
अदालतले गत महिना नै प्रारम्भिक फैसला सुनाएको भए पनि इजिप्टको कानुनी प्रक्रियाअनुसार मृत्युदण्डसम्बन्धी फैसलालाई औपचारिक रूपमा सदर गर्न धार्मिक प्रमुख ‘ग्र्यान्ड मुफ्ती’ को राय लिनुपर्ने व्यवस्था छ । उक्त राय लिएपछि अदालतले फैसला औपचारिक रूपमा फैसला सुनाएको हो ।
मृत्युदण्डको फैसला भए पनि अभियुक्तहरूका लागि कानुनी बाटो पूर्ण रूपमा बन्द भएको छैन । उनीहरूसँग इजिप्टको सर्वोच्च अदालतमा फैसलाविरुद्ध पुनरावेदन गर्न सक्नेछन् । पुनरावेदनपछि फैसला कायम रहने, सजायमा परिवर्तन हुने वा पुनः सुनुवाइको आदेश हुन सक्नेछ ।