काठमाडौं । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफ्नो लगानीमा सञ्चालित सैन्य पत्रिका ‘स्टार्स एन्ड स्ट्राइप्स’का तीन वरिष्ठ पत्रकारलाई पदबाट हटाएको छ । मन्त्रालयले शुक्रबार पत्रिकाका प्रकाशक, प्रधान सम्पादक र पश्चिम एसिया संवाददातालाई सेवाबाट हटाएको एपीले जनाएको छ ।
बर्खास्त हुनेमा प्रकाशक म्याक्स लेडरर, प्रधान सम्पादक एरिक स्लाभिन र पश्चिम एसिया संवाददाता लारा कोर्टे छन् । अमेरिकी रक्षा मन्त्रालयका कर्मचारीहरूको कठिन परिस्थितिबारे खोजमूलक समाचार छापेपछि उनीहरूलाई हटाइएको जनाइएको छ ।
इराननजिकै समुद्रमा २५० दिनभन्दा बढी समयदेखि तैनाथ युद्धपोत ‘यूएसएस अब्राहम लिंकन’मा काम गरिरहेका अमेरिकी नौसेनाका सैनिकहरूको मानसिक अवस्थ खराब भएको, युद्धपोतभित्र कमजोर सुविधा उपलब्ध रहेको र सैनिकहरूको लामो कठिन तैनाथीबारे पत्रिकाले समाचार प्रकाशन गरेको थियो । उक्त रिपोर्टलाई यो कारबाहीको मुख्य कारणका रूपमा हेरिएको छ ।
गएको जुलाईमा प्रधान सम्पादक स्लाभिनले सीबीएस न्युजलाई दिएको अन्तर्वार्ताको सन्दर्भ पनि समाचारमा जोडिएको छ । उक्त अन्तर्वार्तामा उनले सम्पादकीय स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपबारे भनाइ राखेका थिए ।
स्लाभिनले पत्रिकालाई सरकार वा सेनाको ‘जनसम्पर्कको माध्यम’ बनाउन नसकिने र पत्रकारिताको स्वतन्त्रताको रक्षा गर्नुपर्ने अडान दोहोर्याएका थिए ।