इरानका नयाँ सर्वोच्च नेता मोजतबाको भिडियो सार्वजनिक

काठमाडौं । इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीईको भिडियो सार्वजनिक गरिएको छ । देशमा अमेरिका–इजरायलको आक्रमणपश्चात् पहिलोपल्ट उनको भिडियो सार्वजनिक गरिएको हो ।

इरानी समाचार एजेन्सी मेहरले सार्वजनिक गरेको भिडियोमा मोजतबा भुइँमा बसेका केही मानिससँग कुराकानी गरिरहेको देखिन्छ । सर्वोच्च नेता बनेपछि सार्वजनिक उनको यो पहिलो भिडियो समेत हो ।

यद्यपि, भिडियो कहिले रेकर्ड गरिएको भन्नेबारे कुनै जानकारी गराइएको छैन । पछिल्ला केही दिनदेखि मोजतबाको स्वास्थ्य अवस्थाका विषयमा विभिन्न अड्कल गरिएको थियो ।

इजरायली च्यानल–१४ ले उनको अवस्था गम्भीर रहेको र अस्पतालमा भर्ना गरिएको जिकिर गरेको थियो । उक्त च्यानलले उनको छिटै मृत्यु हुन सक्ने समेत जनाएको थियो । तर, मोजतबाको हालको स्वास्थ्य अवस्थाबारे अझै स्पष्ट छैन ।

साउदी मिडिया अल–हदथले इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै मोजतबा इरानमा नरहेको जिकिर गरेको थियो । त्यसमा मोजतबाका नाममा जारी हुने सरकारी सन्देश इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सका प्रमुख अहमद वाहिदी र अरू वरिष्ठ अधिकारीहरूले तयार पारिरहेको जिकिर समेत गरिएको थियो ।

सर्वोच्च नेता बनेयता मोजतबा सार्वजनिक रूपमा देखिएका छैनन् । उनले कुनै सार्वजनिक भाषण पनि दिएका छैनन् । सरकारी सञ्चारमाध्यमले उनका नाममा लिखित सन्देश मात्र सार्वजनिक गर्दै आएका छन् ।

इरानी सञ्चारमाध्यमका अनुसार, आफ्ना पिता आयातोल्लाह अली खामेनीईको मृत्युपछि मोजतबाले कुनै मन्त्रीलाई भेटेका छैनन् । उनी पिताको अन्त्येष्टिमा समेत देखिएका थिएनन् । राष्ट्रपति मसुद पेजेश्कियनले पनि मोजतबासँग प्रत्यक्ष सम्पर्क गर्न कठिन भइरहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार