काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि प्रतिबद्धता व्यक्त गर्ने मुलुकको संख्या ११७ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ मा ११७ मुलुकले ५८ अर्ब बराबरको लगानी प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उद्योग विभागको तथ्यांकअनुसार यस वर्ष कुल १ हजार ११६ नयाँ वैदेशिक लगानीका परियोजना स्वीकृत भएका छन् । प्राप्त प्रतिबद्धताले मुलुकभित्र २८ हजार ४२३ जनालाई रोजगारी दिनसक्ने विभागले बताएको छ ।
विगत तीन दशक भन्दा बढी अवधिमा नेपालमा एफडीआईको आकार र आयोजनाको संख्यामा केही हदसम्म वृद्धि हुँदै आएको छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०५०/५१ मा जम्मा ३८ वटा आयोजनाका लागि १ अर्ब ३७ करोड ८७ लाख ६०हजार रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । तीन दशकपछि अर्थात् आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा आयोजनाको संख्या बढेर ३ सय २७ पुगेको थियो भने लगानीको रकम ३० अर्ब ७१ करोड ९४ लाख५० हजार रुपैयाँ पुगेको थियो ।
सुरुदेखि आव २०८२/८३को जेठसम्म करिब ६ खर्ब २८ अब ९९ करोड रुपैयाँ बराबरको एफडीआई प्रस्ताव परेको छ । जसमा चीन सबैभन्दा ठूलो लगानीकर्ता मुलुकको रूपमा स्थापित भएको छ । कुल वैदेशिक लगानीमा छिमेकी मुलुकमध्ये पहिलो चीन र दोस्रो भारतको हिस्सा सबैभन्दा बढी छ ।