वाग्मतीमा विनाविभागीय ६ मन्त्रीले पाए विषयगत जिम्मेवारी

हेटौँडा । वाग्मती प्रदेश सरकारले मन्त्रालय संख्या घटाउने निर्णय कार्यान्वयनसँगै विनाविभागीय रहेका ६ मन्त्रीलाई विषयगत जिम्मेवारी तोकेको छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार कार्यविभाजन गर्दै मन्त्रालय पुनर्संरचनापछि सरकारी कामकारबाहीलाई निरन्तरता दिन अतिरिक्त जिम्मेवारी प्रदान गरेका हुन् ।

मुख्यमन्त्रीको निर्णयअनुसार मन्त्री विनु रायमाझी पौडेलले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयअन्तर्गत सहकारी क्षेत्रको जिम्मेवारी पाएकी छन् ।

जयराम थापालाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत श्रम, रोजगार तथा यातायात क्षेत्रको जिम्मेवारी दिइएको छ ।

यस्तै, सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन, किरण थापा मगरलाई स्वास्थ्य, उर्मिला नेपाललाई युवा तथा खेलकुद तथा भरतबहादुर केसीलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन तथा वातावरण क्षेत्रको जिम्मेवारी तोकिएको छ ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकारलाई थप चुस्त, प्रभावकारी र मितव्ययी बनाउने उद्देश्यले मन्त्रालय संख्या घटाइएको बताएका छन् ।

मन्त्रालय पुनर्संरचनापछि पनि विषयगत काममा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले मन्त्रीहरूलाई अतिरिक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ ।

मुख्यमन्त्रीको सचिवालयका अनुसार, संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण सम्पन्न भएपछि प्रदेश सरकार आठ मन्त्रालय र आठ मन्त्रीको संरचनामै स्थायी रूपमा सञ्चालन हुनेछ ।

यसअघि शुक्रबार बिहान नै मुख्यमन्त्री बानियाँले सात मन्त्रीलाई नयाँ मन्त्रालयको जिम्मेवारी तोकेका थिए । दिउँसो विनाविभागीय मन्त्रीहरूको समेत कार्यविभाजन टुंग्याएर मन्त्रालय पुनर्संरचनाको प्रक्रिया अघि बढाएका छन्

मुख्यमन्त्री बानियाँले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आफैँसँग राखेका छन् ।

वाग्मतीमा मधुसुदन पौडेललाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीले आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नेतृत्व गर्नेछन् ।

त्यसैगरी कञ्चनचन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा प्रभात तमाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै, कृष्णकुमार तामाङले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । बिन्दु श्रेष्ठ उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको मन्त्री बनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार