के होर्मुज जलमार्ग अझै पनि इरानको कूटनीतिक तुरुपको एक्का हो?

काठमाडौं । होर्मुज जलमार्गमा पुनः तनाव बढेको अमेरिकी सञ्चारमाध्यम र केही रक्षा अधिकारीले जनाएका छन् । योसँगै अमेरिकाविरुद्ध इरानसँग वास्तवमै कति रणनीतिक दबाब सिर्जना गर्ने क्षमता छ र त्यो उसकै निम्ति प्रत्युत्पादक बन्न सक्छ कि सक्दैन भन्ने आमचासो छ ।

युद्धविराम फेरि संकटमा

मंगलबार इरानले होर्मुज जलमार्गमा कम्तीमा तीन व्यावसायिक जहाजलाई निसाना बनाएको थियो । त्योसँगै अमेरिका–इरानबीचको युद्धविराम फेरि संकटमा परेको छ ।

साउदी अरेबियाको एउटा तेल ट्यांकर र कतारको एक तरल प्राकृतिक ग्यास बोक्ने जहाजमाथि आक्रमण गरिएपछि अमेरिकाले इरानी तेल निर्यातमा दिएको अस्थायी प्रतिबन्ध छुट रद्द गरेको छ । उक्त छुट गत महिना भएको अमेरिका–इरान समझदारीपछि लागु गरिएको थियो, जसले केही इरानी ट्यांकरलाई पुनः तेल निर्यात गर्न अनुमति दिएको थियो ।

यसको जवाफमा अमेरिकी सेन्ट्रल कमान्डले बुधबार इरानका ८० भन्दा बढी लक्ष्यमा आक्रमण गर्‍यो । अमेरिकी पक्षका अनुसार, ती लक्ष्यमा वायुरक्षा प्रणाली, रडार तथा व्यावसायिक जहाजलाई धम्क्याउन इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले प्रयोग गर्ने ६० भन्दा बढी तीव्र गतिका साना डुंगा पनि थिए । अमेरिकी सेनाले बिहीबार थप करिब ९० लक्ष्यमा आक्रमण गरिएको दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले अन्तर्राष्ट्रिय जलक्षेत्रमा नागरिक बोकेका व्यावसायिक जहाजमाथि आक्रमण गर्ने कार्यको मूल्य चुकाउन लगाउन यो कारबाही गरिएको जनाएको छ ।

त्यसपछि इरानले खाडी क्षेत्रका केही देशतर्फ नयाँ क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी तथा क्षेत्रीय स्रोतले दाबी गरेका छन् । त्यसक्रममा बहराइन र कुवेतमा हवाई आक्रमणको साइरन बजेको तथा विस्फोटका विवरण सार्वजनिक भएका छन् ।

ब्लुमबर्गले जहाज ट्रयाकिङ डाटालाई उद्धृत गर्दै युद्धविरामपछि पुनः सञ्चालनमा आएको होर्मुजमा जहाज आवतजावत फेरि ठप्प भएको जनाएको छ ।

ग्रीकको समुद्री सुरक्षा कम्पनी मारिस्क्सले यो घटनाक्रमले अमेरिका र इरानलाई पुनः प्रत्यक्ष सैन्य टकरावतर्फ धकेलेको चेतावनी दिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको समझदारी अब समाप्त भएको टिप्पणी गर्दै तेहरानसित वार्ता गर्नु समयको बर्बादी भएको बताएका छन् ।

उता, चीन र कतारले तत्काल तनाव कम गर्न आग्रह गरेका छन् । जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले इरानलाई जहाजमाथिका आक्रमण रोक्न आग्रह गरेका छन् ।

इरानले होर्मुज जलमार्गलाई किन निसाना बनाइरहेको छ ?

इरान होर्मुज जलमार्गमाथिको आफ्नो प्रभाव कायम राख्न चाहन्छ । यो संसारकै सबैभन्दा संवेदनशील समुद्रीमार्गमध्ये एक हो, जहाँबाट सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास निर्यात हुने गर्छ ।

विश्लेषकका अनुसार, कूटनीतिक वार्ता अवरुद्ध हुनेबित्तिकै इरानले होर्मुजलाई दबाब सिर्जना गर्ने माध्यमका रूपमा प्रयोग गर्ने रणनीति अपनाउँदै आएको छ । यसका साथै उसले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारजस्ता अमेरिकी साझेदार मुलुकमाथि पनि दबाब बढाउने प्रयास गर्ने गरेको छ ।

तेहरानको बुझाइमा यी देशलाई अस्थिर बनाउँदा वासिङटनमाथि अप्रत्यक्ष दबाब सिर्जना हुन्छ । र, सम्पूर्ण पश्चिम एसियाले युद्धको आर्थिक तथा सुरक्षा लागत महसुस गर्न बाध्य हुन्छ ।

इरानसँग वास्तवमा कति रणनीतिक शक्ति छ ?

विगतका अमेरिकी तथा इजरायली आक्रमणपछि इरानको परम्परागत सैन्य शक्ति कमजोर भएको मानिन्छ । त्यसैले उसले प्रत्यक्षभन्दा पनि असीमित युद्ध रणनीतिमा जोड दिएको देखिन्छ ।

होर्मुज जलमार्गको उत्तरी किनारा, केही रणनीतिक टापु र तटीय क्षेत्र इरानको नियन्त्रणमा छन् । यही भौगोलिक अवस्थाको लाभ उठाउँदै इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले तीव्र गतिका साना डुंगा, तटीय क्षेप्यास्त्र, समुद्री माइन र ड्रोन प्रयोग गरेर जहाजहरूलाई धम्क्याउने तथा ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने रणनीति अपनाउने गरेको विश्लेषकको भनाइ छ ।

रिपोर्टका अनुसार, इरानले होर्मुजबाट सुरक्षित रूपमा जानका निम्ति प्रतिजहाज २० लाख डलरसम्मको ‘टोल कर’ उठाउन पनि सुरु गरेको छ । यो कदमलाई समुद्री मामिलाका विज्ञले गैरकानुनी र लागु गर्न नसकिने भनेर निन्दा गरेका छन् ।

इरानले जहाजहरूलाई आफ्नो उत्तरी क्षेत्रीय जलक्षेत्रमा तोकिएको मार्ग प्रयोग गर्न जोड दिइरहेको छ । तर, अमेरिकाले ओमानको जलक्षेत्रनजिकै रहेको मार्ग प्रयोग गर्न समर्थन गर्छ । यद्यपि, इरानसँग रहेको यो दबाब सिर्जना गर्ने क्षमता असीमित नरहेको जनाइएको छ ।

अमेरिकाले नौसैनिक नाकाबन्दी कडा बनाएमा इरानको तेल निर्यात गम्भीर रूपमा प्रभावित हुनसक्छ । इरानले अमेरिकी प्रतिबन्धका बीच मुख्य रूपमा चीनलाई छुट मूल्यमा तेल बिक्री गर्दै आएको छ । त्यसनिम्ति उसले श्याडो फ्लिट (छद्म जहाज) प्रयोग गर्ने गरेको आरोप लगाइँदै आएको छ ।

यी जहाजहरूले पहिचान लुकाउन झन्डा परिवर्तन, ट्रयाकिङ प्रणाली बन्द गर्ने तथा समुद्रमै एक जहाजबाट अर्कोमा तेल सार्ने प्रविधि अपनाउने गरेको आरोप छ ।

तर, अमेरिकी प्रतिबन्ध फुकुवाको निर्णय रद्द भएपछि र अमेरिकी नौसेनाको नाकाबन्दी पुनः सुरु हुन सक्ने सम्भावनाका कारण इरानी शासन अहिले पूर्ण आर्थिक पतनको जोखिममा छ ।

वासिङटनस्थित थिंक ट्यांक फाउन्डेसन फर डिफेन्स अफ डेमोक्रेसिजका अनुसार, इरानले यो युद्धका कारण १४४ अर्ब डलरको आर्थिक क्षति व्यहोरेको छ । प्रतिबन्ध र ऊर्जा निर्यातमा आएको अवरोधले इरानको अर्थतन्त्रमा ठूलो क्षति पुगेको छ ।

देशको मुद्रा रियाल ऐतिहासिक रूपमा कमजोर भएको तथा मुद्रास्फीति उच्चस्तरमा पुगेको विश्लेषण सार्वजनिक भएका छन् । प्रतिडलर करिब १७ लाख रियाल पुगेको छ । मुद्रास्फीति ८८ प्रतिशतभन्दा माथि पुगेको छ ।

अब के हुनसक्छ ?

ग्रीकको सामुद्रिक जोखिम व्यवस्थापन कम्पनीले आफ्नो पछिल्लो मूल्यांकनमा प्रतिबन्ध छुट रद्द गरिनुले शान्ति प्रक्रियाको राजनीतिक आधार कमजोर भएको र इरानलाई संयम अपनाइरहन प्रेरित गर्ने वातावरण पनि घटेको जनाएको छ । कम्पनीका अनुसार, आगामी दिनमा तनाव अझ बढ्ने जोखिम उच्च छ ।

ट्रम्पले वार्ताको सम्भावना पूर्ण रूपमा समाप्त नभएको संकेत दिए पनि वर्तमान इरानी नेतृत्वसँग वार्ता गर्न आफू इच्छुक नरहेको बताएका छन् ।

अर्कोतर्फ, इरानले आफ्नो अडान नबदल्ने स्पष्ट पारेको छ । संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले सामाजिक सञ्जाल एक्समा धम्की र दबाबको राजनीति सफल नहुने चेतावनी दिएका छन् ।

बढ्दो तनावसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ । केही सुरक्षा विश्लेषकले थप सैन्य आक्रमणले इरानको रणनीति परिवर्तन गराउने सम्भावना कम रहेको र त्यसको सट्टा दुवै पक्षलाई कूटनीतिक समाधानबाट अझ टाढा धकेल्न सक्ने चेतावनी दिएका छन् । डीडब्ल्यूबाट ।

प्रतिक्रिया
सम्बन्धित समाचार