सरकारको १०० दिने उपलब्धि सार्वजनिक, सेयर बजारमा लगानीकर्ताको साढे ४ खर्ब स्वाहा !

काठमाडौं । सरकारले आफ्नो १०० दिने कार्यकालका उपलब्धिहरू सार्वजनिक गरिरहेको समयमा पूँजीबजारको अवस्था भने अपेक्षाअनुसार सुधार हुन सकेको छैन। पछिल्लो सय दिनमा सेयर बजारमा आएको गिरावटका कारण लगानीकर्ताको सम्पत्ति करिब ४ खर्ब ५० अर्ब रुपैयाँले घटेको देखिएको छ।

सरकार गठन हुनुअघि चैत १२ गते नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ थियो। असार १९ गतेसम्म आइपुग्दा यो घटेर ४५ खर्ब ५९ अर्ब ९ करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बजार पूँजीकरणमा ४ खर्ब ५० अर्ब २८ करोड रुपैयाँको कमी आएको तथ्यांकले देखाउँछ।

नेप्से परिसूचक पनि सय दिनअघि करिब २,९५० अंकमा रहेकोमा अहिले २,६५३ अंकमा झरेको छ। अर्थात्, यस अवधिमा बजार करिब ११.१८ प्रतिशतले ओरालो लागेको छ।

सरकारले पूँजीबजार सुधारका लागि विभिन्न नीतिगत सुधारको घोषणा गरे पनि त्यसको प्रभाव बजारमा देखिन सकेको छैन। बजार विश्लेषकहरूका अनुसार अहिलेको गिरावट सामान्य करेक्सनभन्दा बढी दीर्घकालीन ‘डाउन ट्रेन्ड’ वा ‘बेयरिस ट्रेन्ड’ को संकेत हो।

विश्लेषकहरूले पछिल्लो समय वित्तीय अपराधविरुद्ध सरकारले थालेको कडा अनुसन्धान र ठूला व्यवसायी तथा लगानीकर्तामाथि गरिएको कारबाहीले पनि लगानीकर्ताको मनोबलमा असर परेको बताएका छन्। अनुसन्धानका क्रममा केही प्रभावशाली व्यवसायी पक्राउ परेपछि बजारमा कारोबार रकम पनि उल्लेख्य रूपमा घटेको उनीहरूको भनाइ छ।

यसैबीच अर्थ मन्त्रालयले सार्वजनिक गरेको १०० दिने प्रगति विवरणमा बीमा र धितोपत्र क्षेत्रसँग सम्बन्धित ११० अर्ब रुपैयाँभन्दा बढीको वित्तीय अनियमिततामाथि सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरिएको र थप अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको छ।

बजारका जानकारहरूका अनुसार वित्तीय अनुशासन कायम गर्नु आवश्यक भए पनि ठूला लगानीकर्ताको कारोबार प्रभावित हुँदा समग्र पूँजीबजारमा नकारात्मक मनोविज्ञान सिर्जना भएको छ। उनीहरूका अनुसार नेपालको सेयर बजारमा संस्थागत तथा ठूला लगानीकर्ताको सक्रिय सहभागिताबिनाको दिगो सुधार सम्भव छैन।

त्यसैगरी, चालु आर्थिक वर्षको बजेटमार्फत पूँजीगत लाभकरमा गरिएको परिवर्तनले पनि बजारमा दबाब थपेको विश्लेषण गरिएको छ। लगानीकर्तामा विश्वासको वातावरण निर्माण गर्न नसक्दा बजारले अपेक्षित गति लिन नसकेको उनीहरूको निष्कर्ष छ।

प्रतिक्रिया
सम्बन्धित समाचार