विश्वविजेता अर्जेन्टिनासामु केप भर्डेको ऐतिहासिक परीक्षा ! मेसी र भोजिन्हाको प्रतिस्पर्धामा सबैको नजर

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ मा शनिबार बिहान विश्वविजेता अर्जेन्टिना र पहिलोपटक विश्वकप खेलिरहेको केप भर्डेबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मियामी गार्डेन्सस्थित हार्ड रक स्टेडियममा नेपाली समयअनुसार बिहान ३:४५ बजे हुने यो खेललाई अनुभव र उत्साहबीचको भिडन्तका रूपमा हेरिएको छ।

साविक विश्वविजेता अर्जेन्टिनाको नेतृत्व कप्तान लियोनेल मेसीले गरिरहेका छन्। ३९ वर्षीय मेसी जारी विश्वकपमा तीन खेलबाट ६ गोल गर्दै उत्कृष्ट लयमा छन्। उनको यही प्रदर्शनका कारण अर्जेन्टिना उपाधि दाबेदार टोलीका रूपमा अघि बढिरहेको छ।

यता, विश्वकपमा पहिलो सहभागितामै नकआउट चरणमा पुगेर इतिहास बनाएको केप भर्डेको सबैभन्दा ठूलो भरोसा अनुभवी गोलकिपर भोजिन्हा हुन्। ४० वर्षीय उनले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा क्लिन–सिट राखेका थिए। विशेषगरी स्पेनसँगको गोलरहित बराबरीमा उनले सात महत्वपूर्ण बचाउ गर्दै टोलीलाई हारबाट जोगाएका थिए।

करिब पाँच लाख ५० हजार जनसंख्या भएको केप भर्डे विश्वकपको इतिहासमा नकआउट चरण पुग्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्र बनेको छ। ‘ब्लु सार्क्स’ उपनामले परिचित टोलीले समूह चरणमा स्पेनसँग ०–०, उरुग्वेसँग २–२ र साउदी अरेबियासँग ०–० को बराबरी खेल्दै ऐतिहासिक उपलब्धि हासिल गरेको हो। विदेशमा रहेका खेलाडीहरूको योगदानले टोलीलाई थप मजबुत बनाएको छ।

अर्जेन्टिनाले भने समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै अल्जेरिया र अस्ट्रियालाई पराजित गरी समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको थियो। मेसीसँगै लाउटारो मार्टिनेजको आक्रामक खेल पनि अर्जेन्टिनाको मुख्य शक्ति मानिएको छ।

कागजमा अर्जेन्टिना स्पष्ट रूपमा बलियो देखिए पनि केप भर्डेले आफ्नो संगठित रक्षापंक्ति र अनुशासित खेलमार्फत अर्को ठूलो आश्चर्यजनक नतिजा निकाल्ने लक्ष्य राखेको छ। यस खेलमा मेसीको गोल गर्ने क्षमता र भोजिन्हाको गोल बचाउने कौशलबीचको प्रतिस्पर्धाले विश्वभरका फुटबल समर्थकको विशेष ध्यान तानेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार