भेनेजुएला भूकम्प : ६७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने राष्ट्रसंघको अनुमान 

काठमाडौं । भेनेजुएलामा आएको दुई शक्तिशाली भूकम्पका कारण करिब ६७ लाख ६० हजार मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघ (यूएन)ले अनुमान गरेको छ ।

अन्तर्राष्ट्रिय बसाइँसराइ संगठन (आईओएम)का अनुसार, उपलब्ध जनसंख्या तथा क्षतिको विवरणका आधारमा यो प्रक्षेपण गरिएको हो । यसमा राजधानी काराकासका मात्रै करिब २० लाख मानिस समेटिएका छन् । आईओएमले यो अनुमानले यस महाविपत्तिबाट उत्पन्न हुन सक्ने विशाल मानवीय संकटको संकेत गर्ने जनाएको छ

हालसम्म आधिकारिक रूपमा मृतकको संख्या १४ सय ३० पुगेको छ भने हजारौँ मानिस अझै बेपत्ता छन् । तटीय सहर ला गुआइरालगायत प्रभावित क्षेत्रमा कयौँ मानिस भग्नावशेषमुनि फसेको बताइएको छ । संयुक्त राष्ट्रसंघका निकायहरूले देशको आवश्यकता तत्काल र अत्यन्त ठूलो रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोगको अपिल गरेका छन् ।

आईओएमले विशेषगरी आपतकालीन आश्रयस्थल, सुरक्षित खानेपानी, सरसफाइ तथा स्वास्थ्य सेवामा तत्काल सहयोग आवश्यक रहेको जनाएको छ

संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुख टम फ्लेचरले गत बुधबार आएको शक्तिशाली भूकम्पपछि अझै पनि ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेको बताएका छन् ।

उनका अनुसार, भेनेजुएलाका स्थानीय उद्धार टोलीलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले ३५ वटा अन्तर्राष्ट्रिय खोज तथा उद्धार टोली परिचालन गरेको छ । ती टोलीमा १६ सय जना पूर्ण रूपमा प्रशिक्षित उद्धारकर्मी तथा १०० भन्दा बढी तालिमप्राप्त उद्धार कुकुर सहभागी छन् ।

एक सञ्चारमाध्यमसँग कुरा गर्दै फ्लेचरले भने, “हाम्रो अहिलेको मुख्य प्राथमिकता भग्नावशेषमा फसेका सकेसम्म धेरै मानिसलाई जीवितै उद्धार गरेर उनीहरूको ज्यान जोगाउनु हो ।”

सहायता निकायहरूका अनुसार, भूकम्पपछिको पहिलो ४८ देखि ७२ घण्टा मानिसहरूलाई जीवितै उद्धार गर्नका लागि ‘गोल्डेन विन्डो’ अर्थात् सबैभन्दा महत्त्वपूर्ण समय मानिन्छ । फ्लेचरले निरन्तर पराकम्प आइरहेको र व्यापक क्षति भएको क्षेत्रमा उद्धार कार्य सञ्चालन गर्नुपरेकाले उद्धार टोलीहरूले ठूलो चुनौती सामना गरिरहेको बताए ।

भेनेजुएलाको नेसनल एसेम्बलीका अध्यक्ष जोर्गे रोड्रिगेजले सरकारी टेलिभिजनमार्फत सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १४ सय ३० जनाको मृत्यु भएको छ । ३२ सय जना घाइते भएका छन् । साथै, ३१ सय जना घरबारविहीन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार