काठमाडौँ – सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप प्रतियोगिता आकार, सहभागी राष्ट्र संख्या र आर्थिक दृष्टिले अहिलेसम्मकै सबैभन्दा भव्य संस्करण बन्ने भएको छ। पहिलोपटक ४८ राष्ट्र सहभागी हुने यस विश्वकपको संयुक्त आयोजना अमेरिका, क्यानडा र मेक्सिकोले गर्नेछन्। ३९ दिनसम्म चल्ने प्रतियोगितामा १६ रंगशालामा कुल १०४ खेल खेलाइनेछन्, जुन विश्वकप इतिहासमै सबैभन्दा धेरै हो।
फिफाको २३औँ विश्वकप संस्करण खेलकुदीय प्रतिस्पर्धामात्र नभई विशाल व्यावसायिक अवसरका रूपमा पनि हेरिएको छ। विस्तारित ढाँचाका कारण प्रसारण अधिकार, प्रायोजन, टिकट बिक्री तथा आतिथ्य सेवाबाट फिफाले करिब ८.९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरिएको छ।
यसअघि १९९८ मा सहभागी टोलीको संख्या २४ बाट ३२ पुर्याइएको थियो। त्यसयता सात संस्करणसम्म ६४ खेल सञ्चालन भएका थिए। तर २०२६ मा ४८ टोली सहभागी हुँदा समूह चरण र नकआउट संरचनामा विस्तार गरिएको छ। नयाँ ‘राउन्ड अफ ३२’ थपिएसँगै खेल संख्या उल्लेखनीय रूपमा बढेको हो।
तीन देशमा खेलको बाँडफाँट
अमेरिकाले ११ रंगशालामा अधिकांश खेल आयोजना गर्नेछ भने मेक्सिकोका तीन र क्यानडाका दुई रंगशालामा बाँकी खेल सञ्चालन हुनेछन्। मेक्सिकोमा १३ खेल हुनेछन् र जुन ११ मा मेक्सिको सिटीमा घरेलु टोलीले दक्षिण अफ्रिकाविरुद्ध उद्घाटन खेल खेल्नेछ।
क्यानडाले पनि १३ खेल आयोजना गर्नेछ। टोरन्टोमा जुन १२ मा क्यानडाले बोस्निया–हर्जेगोभिनाविरुद्ध खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ। बाँकी ७८ खेल अमेरिकामा हुनेछ, जहाँ क्वार्टरफाइनलदेखि फाइनलसम्मका सबै महत्वपूर्ण खेल आयोजना गरिनेछन्। फाइनल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुनेछ।
फिफाको आम्दानी कहाँबाट आउँछ?
फिफाले २०२३–२०२६ व्यावसायिक चक्रमा सुरुमा ११ अर्ब डलर आम्दानी गर्ने लक्ष्य राखेको थियो। तर पछिल्ला अनुमानले कुल आम्दानी १३ अर्ब डलरसम्म पुग्न सक्ने देखाएका छन्, जसको ठूलो हिस्सा विश्वकपबाट आउनेछ।
मुख्य आम्दानी स्रोतहरूमा टेलिभिजन तथा डिजिटल प्रसारण अधिकार, अन्तर्राष्ट्रिय प्रायोजन सम्झौता, टिकट बिक्री, कर्पोरेट आतिथ्य सेवा र आधिकारिक टिकट पुनर्बिक्री प्रणाली समावेश छन्। विशेषगरी उत्तर अमेरिकी बजारको उच्च क्रयशक्तिले फिफाको राजस्व वृद्धि गर्ने अपेक्षा गरिएको छ।
आयोजक सरकारको ठूलो लगानी
विश्वकपबाट प्राप्त हुने अधिकांश प्रत्यक्ष आम्दानी फिफाकै खातामा जाने भए पनि सुरक्षा, यातायात, पूर्वाधार व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी खर्च आयोजक देश र शहरहरूले वहन गर्नेछन्।
क्यानडामा संघीय तथा प्रादेशिक सरकारले करिब १.०६६ अर्ब क्यानडेली डलर खर्च गर्ने अनुमान गरिएको छ। अमेरिकामा पनि सार्वजनिक सुरक्षा र आयोजनासम्बन्धी व्यवस्थापनमा सयौँ मिलियन डलर खर्च हुने अपेक्षा गरिएको छ।
कुन क्षेत्रले पाउनेछन् सबैभन्दा बढी फाइदा?
विश्वकपका कारण होटल तथा आवास सेवा, हवाई तथा स्थल यातायात, रेस्टुरेन्ट, खुद्रा व्यापार, सुरक्षा सेवा, विज्ञापन उद्योग, पर्यटन क्षेत्र तथा रंगशाला व्यवस्थापन व्यवसायले उल्लेखनीय लाभ लिने अनुमान गरिएको छ।
टिकट बिक्री किन बढ्दो छ?
प्रतियोगिताको विस्तारसँगै टिकट बिक्री फिफाको सबैभन्दा तीव्र गतिमा बढ्ने आम्दानी स्रोत बनेको छ। प्रिमियम सिटको उच्च मूल्य, बढ्दो दर्शक माग र आधिकारिक पुनर्बिक्री प्रणालीबाट फिफाले थप राजस्व प्राप्त गर्नेछ। पुनर्बिक्री प्लेटफर्ममार्फत खरिदकर्ता र विक्रेता दुवैबाट शुल्क लिइने भएकाले यो आम्दानीको नयाँ माध्यम बनेको छ।
दीर्घकालीन आर्थिक प्रभाव
विश्वकपले पर्यटन, रोजगारी र अन्तर्राष्ट्रिय प्रचारप्रसारमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ। अध्ययनहरूले मेक्सिकोको जीडीपीमा ०.१ देखि ०.२ प्रतिशतसम्म वृद्धि हुन सक्ने देखाएका छन् भने अमेरिकामा प्रभाव करिब ०.०५ प्रतिशत रहने अनुमान गरिएको छ।
यद्यपि, दीर्घकालीन लाभ पूर्वाधार सुधार, पर्यटन प्रवर्द्धन, यातायात सञ्जाल विस्तार र फुटबलप्रतिको बढ्दो आकर्षणमा निर्भर रहने विज्ञहरूको भनाइ छ।
तीन देशको संयुक्त आयोजनाको विशेषता
तीन राष्ट्रले संयुक्त रूपमा आयोजना गर्दा आर्थिक भार बाँडफाँट हुने भएकाले नयाँ संरचना निर्माणको आवश्यकता कम हुन्छ। विशेषगरी अमेरिकाको विद्यमान खेल पूर्वाधारको व्यापक प्रयोग गरिनेछ। तर फरक समय क्षेत्र, लामो यात्रा दूरी र बहुराष्ट्रिय समन्वयका कारण व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने अनुमान गरिएको छ।
फिफाका लागि भने यो मोडेल अत्यन्त लाभदायक सावित हुने देखिएको छ। बढी खेल, विशाल दर्शक संख्या र विस्तारित व्यावसायिक अवसरले २०२६ विश्वकपलाई खेल इतिहासकै सबैभन्दा ठूलो र आम्दानीमुखी प्रतियोगिताका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।