मे २०२६ बन्यो विश्व इतिहासकै दोस्रो सबैभन्दा तातो मे महिना 

काठमाडौं । युरोपेली संघ (ईयू)को मौसम अनुगमन संस्था ‘कपरनिकस क्लाइमेट चेन्ज सर्भिस’ले जलवायु परिवर्तनसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार, अभिलेख राख्न थालिएयता मे २०२६ विश्व इतिहासकै दोस्रो सबैभन्दा तातो मे महिना बनेको छ ।

तथ्यांकले यस वर्ष विश्वव्यापी रूपमा वायुमण्डल र महासागर दुवैको तापक्रम रेकर्डस्तरको निकै नजिक पुगेको देखाएको छ ।

यस वर्ष मे महिनाको सुरुआत अपेक्षाकृत चिसो मौसमबाट भए पनि केही समयमै पश्चिमी युरोपका क्षेत्रहरू इतिहासकै प्रारम्भिक तथा तीव्र लु (हिटवेभ)को चपेटामा परेका थिए ।

यस असामान्य गर्मीका कारण मे महिनाका तापक्रमसम्बन्धी धेरै पुराना रेकर्डहरू भंग भएका थिए । फ्रान्स, युनाइटेड किंडम, आयरल्यान्ड, पोर्चुगललगायत देशहरू यसबाट सबैभन्दा बढी प्रभावित भएका थिए ।

विज्ञहरूले उष्ण प्रशान्त महासागरको सतही तापक्रम असामान्य रूपमा उच्च रहेको उल्लेख गर्दै आगामी महिनाहरूमा शक्तिशाली ‘अल निनो’ विकसित हुन सक्ने चेतावनी दिएका छन् ।

उनीहरूका अनुसार समुद्री सतहको बढ्दो तापक्रमले विश्वव्यापी मौसम प्रणालीमा व्यापक प्रभाव पार्न सक्छ । मौसम विज्ञानमा अल निनो चक्रलाई विश्वभर बढ्दो गर्मी, खडेरी, बाढी तथा अन्य चरम मौसमी घटनाहरूसँग जोडेर हेर्ने गरिन्छ । राेयटर्स

प्रतिक्रिया
सम्बन्धित समाचार