काठमाडौँ । देशभर आजदेखि लगातार चार दिन सार्वजनिक बिदा परेको छ । गृह मन्त्रालयले जारी गरेको वार्षिक बिदा तालिका अनुसार बिहीबारदेखि आइतबारसम्म सरकारी कार्यालय, सार्वजनिक संस्था तथा निकायहरू बन्द रहनेछन् ।
आज जेठ १४ गते इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर इद (इद–उल–अज्हा) का अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको हो । त्यसपछि भोलि जेठ १५ गते गणतन्त्र दिवस परेकाले सो दिन पनि सार्वजनिक बिदा रहनेछ ।
यसअघि नै सरकारले राजपत्रमार्फत गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा घोषणा गरिसकेको थियो । त्यसपछि जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले चार दिन लगातार सरकारी सेवा बन्द रहने अवस्था बनेको हो ।