काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले सेयर कारोबारका नियमहरूमा महत्त्वपूर्ण परिमार्जन गर्दै ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ जारी गरेको छ । नेप्से सञ्चालक समितिको यही वैशाख ३ गते बसेको बैठकले गरेको निर्णय अनुसार यो संशोधित विनियमावली यही ७ गतेदेखि लागू हुनेछ ।
परिमार्जित विनियमावलीले सेयर बजारको सर्किट ब्रेकर, मूल्य प्रविष्टि सीमा र कारोबार समय बाहेकका आदेश व्यवस्थापनमा नयाँ नियमहरू लागू गरेको छ । संशोधित विनियमावली अनुसार नेप्से परिसूचकमा लाग्ने सर्किट ब्रेकरको सीमा हेरफेर गरिएको छ । निरन्तर कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबारमा सर्किट ब्रेकर लगाइनेछ ।
यसअघि नेप्सेमा कारोबार भएको एक घण्टाभित्र नेप्से ३ प्रतिशतले घटी वा बढी भएमा १५ मिनेटका लागि कारोबार रोकिने गरेको थियो भने निरन्तर कारोबार सुरु भएको २ घण्टाभित्र नेप्से ४ प्रतिशतले बढी वा घटी भएमा ३० मिनेटका लागि कारोबार रोकिने व्यवस्था थियो ।
साथै, कारोबार सुरु भएको कुनै पनि समयमा नेप्से ५ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द हुने व्यवस्था थियो । अब भने कारोबार चलिरहेको कुनै पनि समयमा नेप्से परिसूचक ८ प्रतिशतले घटी वा बढी भएमा सो दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ ।