काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारसँग सम्बन्धित सम्पत्तिबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। यस क्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण व्यवस्थित रूपमा संकलन गर्न थालिएको छ।
प्रमाण नष्ट हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बूढानीलकण्ठस्थित देउवा निवास क्षेत्रमा भइरहेको घर भत्काउने कार्य प्रहरीले तत्कालका लागि रोकेको छ।
यसअघि नै सत्ताको प्रभाव प्रयोग गरी अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता भएको थियो। प्राप्त उजुरी र पहिले सङ्कलन गरिएका प्रमाणहरूलाई आधार बनाएर अनुसन्धान थप विस्तार गरिएको जनाइएको छ।
सुरक्षा निकाय स्रोतका अनुसार, पछिल्लो एक–डेढ वर्षभित्र जयवीर देउवा र उनका नजिकका आफन्तहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गासम्बन्धी विवरणहरू संकलन भइसकेका छन्।
त्यस्तै, देउवाका नातेदारहरू प्रदीपशम्सेर जबरा र भुषण राणासहितका व्यक्तिहरूबाट जयवीर देउवा तथा अन्य व्यक्तिहरूको खातामा भएको आर्थिक कारोबारबारे पनि थप जानकारी संकलन भइरहेको बताइएको छ।