काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाह नेतृत्वमा सरकार बनेको १८ घण्टाभित्रै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।
ओली नेतृत्वमा सरकार रहेका बेला भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । ७६ जनाको ज्यान जानेगरी भएको आन्दोलनको मुख्य दोषी ओलीलाई ठहर गरेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेलगत्तै दोषी ठहर गरेलगत्तै ओलीलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो ।
गुन्डुमा रहेकी एमाले नेतृ रामकुमारी झाँक्रीका अनुसार राति २ बजेतिर नै प्रहरी पुगेको थियो । उनका अनुसार मन्त्रिपरिषद्को निर्णय र अत्यन्त पक्राउ पुर्जी बोकेर प्रहरी पुगेको थियो ।
त्यस्तै नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन् । उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट पक्राउ गरिएको हो ।
लेखकको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको मृत्यु भएको घटनामा तत्कालीन गृहमन्त्रीका रूपमा जिम्मेवार ठहर गर्दै गौरीबहादुर कार्की जाँचबुझ आयोगले लेखकलाई तीनदेखि १० वर्षसम्म कैद सजाय सिफारिस गरेको थियो।